अनखबर काठमाडौं, २७ पुस । बिभिन्न राजनीतिक दल तथा बुद्धिजीवीहरूले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको स्वाधीनताको विरुद्ध भएको भन्दै सम्झौता गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले  नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसीको प्रस्ताव  अगाडि सारेको दाबी गरेका छन् ।

राष्ट्रिय जागरण मंचले आइतबार काठमाडौंमा आयोजना गरेको ‘हिन्द प्रशान्त रणनीति, एमसीसी र नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल युद्धभूमी बन्ने खतरा रहेको बताए ।
सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए ।

उनले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेकाले यसमा अलमलिने अावश्यक नरहेको बताए । एमसीसी विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलको तर्क छ

सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले आपत्ति जनाए । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए ।

पोखरेलले एमसीसीसँग गरिएको सम्झौताअनुसार विद्युत निर्यत गरेर देश समृद्ध नहुने दाबी समेत गरे । “विद्युत कच्चा पदार्थ हो, कच्चा पदार्थ निर्यत गर्ने कुनैपनि मुलुक समृद्ध भएका छैनन् । विद्युत निर्यत होइन देशमै खपत गर्नुपर्छ” पोखरेलले भने । उनले एमसीसीबारे आफ्नो पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै अहिलेकै अवस्थामा कदापी पास हुन नदिने बताए ।

नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भएर लागु भए नेपालको स्वाधिनता समाप्त हुने चेतावनी दिए। उनले चीन विरुद्ध नेपालीभूमी प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमीलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीकेपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता भएको ढकालले बताए । उनले सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडकमा आउने बेला आएको बताए ।

बरिष्ठ अधिवक्ता स्वागत नेपालले एमसीसीलाई नेपालको कानुनभन्दा माथि राखिएको बताउँदै देश र जनताको हितविरुद्धमा भएको बताए । उनले एमसीसी राष्ट्रघाती भएपनि संसदलाई पारित गर्ने तयारी भइरहेको भन्दै त्यसविरुद्ध जनता प्रतिरोध गर्नुपर्ने बताए ।

जनअधिकार मंचका उपाध्यक्ष देवबहादुर पौडेललगायत एमसीसी राष्ट्रहित विपरित भएको बताउँदै खारेज गर्नपर्ने धारणा  राखे ।

कार्यक्रममा मंचका संयोजक गुणराज लोहनीले एमसीसीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन नरबहादुर कार्कीले गरेका थिए ।