अनखबर काठमाडौं, पौष २८ । दाङमा गत असोज ३० गते पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ नेतालाई धमाधम कारागार सरूवा गरिएको छ ।
४ जनालाई रोल्पा कारागार र धरौटी तिरेर रिहा भएका ४ जनालाई फेरि पक्राउ गरेर कपिलवस्तु लगिए लगत्तै
सल्यानका इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’लाई तुलसीपुर कारागारबाट सल्यान कारागार पठाईएको छ ।
असोज ३० गते दाङको राजपुरबाट २१ जना नेतासहित पक्राउ परेका विश्वलाई सोमबार दिउँसो १ बजेतिर सल्यान सदरमुकाम खलंगाकाे कारागार लगिएको छ ।
इन्चार्ज विश्वलाई सल्यान अदालतमा पनि मुद्दा भएकोले अनुसन्धानको लागि सहज हुनेभएकोले सल्यान कारागार पठाइएको तुलसीपुर कारागारले जनाएको छ । सल्यान आइपुगेका विश्वले पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले जनताको हितमा राजनीतिक मुद्दा उठाउदा सरकार अत्तालिएर आफ्नाे पार्टीलाइ प्रतिबन्ध लगाइ आफुहरूलाइ अपराधीक मुद्दा लगाएको बताए ।
पक्राउ परेका २१ जनालाई प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले यसअघि नै आदेश दिएकाे थियो । तर सरकारले व्यापक प्रहरी तैनाथ गरेर फेरि गिरफ्तार गर्ने याेजना बनाएपछि अदालतकाे फैसला गरेको दिन धराैटी नबुझाएर सबै जना तुलसीपुर कारागार चलान भएका थिए ।
राजपुरबाट पक्राउ परेका २१ जनामध्ये ४ जना कारागारबाटै यही पुस १६ गते धराैटी बुझाएर रिहा हुन खाेज्दा प्रहरीले अदालतबाटै फेरि गिरफ्तार गरि ४ जनालाई कपिलवस्तु पुर्याएको छ । त्यस्तै नेकपाका तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, रोल्पा इन्चार्ज सन्ताेष सुवेदी ‘प्रयास’ र पाेष्टमान घर्ती मगरलाई शनिबार नै राेल्पा जिल्लाकाे कारागार लगिएको छ ।
पक्राउ परेका बाँकी नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित १३ जनालाइ तुलसीपुरकाे कारागार राखिएको छ ।