अनखबर धनुषा, माघ ३ । जनकपुरकोमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानिएको छ ।
जुत्ता हान्नेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्बिरमा प्रदर्शनमा उत्रिएका उपभोक्ता समितिका सदस्यले जुत्ता हान्नेका हुन् ।
मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित तस्बिरमा जुत्ता हान्न थालेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहँदा उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुको तस्बिरमा सार्वजनिकस्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ ।
गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्र्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।