अनखबर काठमाडौं, माघ ३ । फरक राजनीतिक विचार र कार्यदिशा अघि सारैकै कारण राज्यको प्रतिबन्ध बेहोरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ ।
जनयुद्ध दिवसका अवसरमा देशैभर खुला कार्यक्रम र काठमाडौँमा केन्द्रित ठूलो जनसभा आयोजना गरिने भएको छ । नेकपाका नेताहरू खुला सार्वजनिक कार्यक्रममा सहभागी नभइरहेको अवस्थामा नेकपाले काठमाडाँैमा खुला जनसभा गर्ने र उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।


नेपाली जनताले भोगेको सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्ति पाउनका लागि तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएर सशस्त्र जनयुद्ध सञ्चालन गरेको २४ वर्ष पूरा भएर २५ वर्ष लागेको अवसरमा २५ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।
तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपाले २५ औँ जनयुद्ध दिवस मनाउन लागिएको नेकपा स्रोतले जनाएको हो । (ईरातोबाट)