अनखबर रूपन्देही, माघ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको अवध स्वायत्त प्रदेशले वन क्षेत्रको दोहन विरुद्ध सङ्घर्ष गर्ने बताएको छ ।
शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वायत्त प्रदेश अन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक वनव्यस्थापनको नाममा भुमाफिया, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वनक्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएको छ ।
स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद थारुद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा वैज्ञानिक वन व्यवस्थापनको नाममा गरिएको वन फडानी तत्काल रोक्न भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ,’तराईमा सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वैज्ञानिक वनव्यवस्थानको नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ ।यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।’
त्यसैगरीसरकारको कथित वैज्ञानिक वनव्यवस्थापन कार्यक्रमवारे कसैपनि भ्रममा नपर्न अपील गर्दै प्राकृतिक स्रोत र साधनमाथिको लुट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको नेकपाले बताएको छ ।