अनखबर सोलुखुम्बु, माघ ४ । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रममा गोली चलेको छ ।
कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको हो ।
झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।
मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए ।
तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो । तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर-८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् ।
स्थानीय बासिन्दाको मागलाई प्रशासनले बेवास्ता गरेपछि झडप भएको तिङ्लाका स्थानीय बालकुमार कार्कीले बताए । झडपपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।