अनखबर काठमाडौं, माघ ६ । संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको भन्दै परिवर्तनका लागि अझै मेहनत गर्नुपर्नेमा जोड दिएकी छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्।

‘मैले बाजी मारें। म सभामुख हुन्छु/हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’

उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि तर्क गरेकी छिन् । कसैले बल दिएकाले यसअघि राजिनामा नदिएको अारोपमा भनिन्,‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो। कुनै व्यक्ति र संस्था होइन संविधान थियो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्यो? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो।’

उनले आफूले बोलेको कुरा पुर्‍याएर राजीनामा दिएको बताइन्।तुम्बाहाङ्फेले यसअघि सभामुखको उम्मेदवार टुंगो नलगायत सम्म राजिनामा नदिने अडान राखे कि थिइन् । सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि  उनले राजिनामा दिएकी हुन् ।