अनखबर दाङ, माघ ६ । दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना मध्ये धरौटी बुझाएर रिहा भएका ५ जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

अदालतले तोकेको १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेक्रममा दाङ प्रहरीले दाङका रामबहादुर थापा, यामलाल कटुवाल, ईन्द्रबहादुर वली, रोल्पाका हितप्रसाद रोका र अमृत घर्ती मगरलाई अदालत परिसरबाट सोमबार प्रहरीले  पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७ मा १५-१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, रिहा भए लगत्तै आँफूहरुलाई पुनः प्रहरीले नियन्त्रणमा लिने भन्दै उनीहरु कारागार चलान भएका थिए।

अहिलेसम्म धरौटी बुझाएर रिहा हुन खोजेका ११ जनालार्इ प्रहरीले गिरफ्तार गरिसकेको छ । अन्य १० जना अहिले पनि कारागारमै छन्। ति मध्ये केहीलाई सल्यान र रोल्पा कारागार समेत सारिएको छ ।

गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट मध्यपश्चिम कमाण्ड ईन्चार्ज वीरजंगसहित २१ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले उनिहरुविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्धा चलाइएको थियो।