अनखबर
बुटवल, माघ ६ । रुपन्देहीको गैँडहवा गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । दिगो सामुदायिक विकासका निम्ती एकताको सहजीकरणमा गाउँपालिकाले सोमबार आयोजना गरेको एककार्यक्रमका बिच आर्थिक वर्ष २०७५÷७६ सालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणदेखि नीति निर्माण सम्मका कार्यमा थप पारदर्शिता र सुशासन कायम गर्न आग्रह गरेका छन् । स्थानीयस्तरका आयोजना बनाउँदा आफूहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दैै सेवा प्रदान गर्दा गाउँपालिकाले सबैलाई समान व्यवहार गर्न उनीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागिहरुको जिज्ञासा र गुनासोृलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिका तथा मातहतका वडाकार्यालयहरुबाट पाइने सेवा थप सहज तुल्याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अध्यक्षतासमेत गरेका केवटले स्थानीयको गुनासोलाई गम्भिरतापूर्वक लिएको बताउँदै आउने दिनहरुमा सबै समस्याहरुको रचनात्मक ढंगले समाधान गर्दै लैजाने बताए । साथै उनले स्थानीय स्तरमा भइरहेका विकास निर्माण तथा नीति निर्माणका कार्यहरुलाई स्थानीयहरुले निगरानी राखिराख्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले गाउँपालिकाले बनाउने योजनामा स्थानीयहरुको अझ धेरै सहभागिताको अपेक्षा गरेको बताए । कार्यक्रममा सहभागिले उठाउका जिज्ञासाहरुलार्य सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा कर्मचारीहरुले आउने दिनहरुमा थप दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद उपाध्याय, कृषि विकास शाखा प्रमुख नैनबहादुर यादव, प्राविधिक इन्जिनियर पंकज शाहनी, पशु विकास शाखा प्रमुख रामेश्वर मण्डल र लेखा शाखा प्रमुख महेश चौधरीले आफ्ना–आफ्ना शाखाका वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुभावती यादव, गाउँपालिकाका ९ वटै वडाका वडाध्यक्ष तथा सचिव, स्थानिय बुद्धिजीवी, विद्यालयका प्रतिनिधि, समाजसवीलगायत स्थानियहरु गरी १५० जना भन्दा धेरैको उपस्थिति रहेको थियो । एकताका कार्यकारी निर्देशक बुद्धिराम पन्थीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद उपाध्यायले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।