अनखबर रुपन्देही, माघ ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको अवध स्वायत्त प्रदेशअन्तर्गत रुपन्देही जिल्ला जनसरकारले वनक्षेत्रको दोहन विरुद्ध सङ्घर्ष गर्ने बताएको छ ।

एक प्रेस विज्ञप्ती जारी गर्दै स्वायत प्रदेश अन्तर्गत क्षेत्रमा वैज्ञानिक वनव्यस्थापनको नाममा भुमाफिया, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वनक्षेत्रको अत्याधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला जनसरकार प्रमुख जीवनद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा वैज्ञानिक वन व्यवस्थापनको नाममा गरिएको वन फडानी तत्काल रोक्न भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, “देवदग, सैनाइना सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर “वैज्ञानिक वनव्यवस्थान” को नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ, यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।”

त्यसैगरी सरकारको कथित वैज्ञानिक वनव्यवस्थापन कार्यक्रमवारे कसैपनि भ्रममा नपर्न अपील गर्दै प्राकृतिक स्रोत र साधनमाथिको लुट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको नेकपाले बताएको छ ।