अनखबर दाङ, माघ ८। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेको छ ।

 दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिरेर रिहा भएका कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन र राप्ती ब्युरो सदस्य प्रदिप वलीलाई जिल्ला अदालत परिसरबाटै बुधबार गिरफ्तार गरिएको   हो  ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित दाङबाट गिरफ्तार भएका २१ जनालाई  अदालतले प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले आदेश दिएकाे थियो । तर प्रहरीले पक्राऊ गर्ने भएपछि सबै कारागार चलान भएका थिए ।  अहिले धरौटीमा रिहा हुनेजति सबैलाई प्रहरीले पुन गिरफ्तार गर्दै अाएको छ ।

प्रहरीले पुनः  पक्राउ गरेका  पोख्रेल र  प्रदीप वलीलाई नवलपरासी र पाटीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनलाई काठमाण्डौ लग्ने तयारी गरेको छ ।

प्रहरीले  युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनलाई  काठमाण्डौ मुद्दा  छ भनी पक्राउ पुर्जी दिएको छ भने  बाँकी दुई जनाको मुद्दा खुलाईएको छैन ।