अनखबर काठमाडौं, माघ ८। राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

२०७६ माघ ९ गते बिहीबार हुने निर्वाचन सम्पन्न गर्न मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा पुस १५ गते देखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा गत पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।