अनखबर माघ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)सहित ९ दलले देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनताकाे संघर्ष चर्काउने सहमति गरेका छन् ।

राष्ट्रिय स्वाधीनताकाे मुद्दामा कार्यगत एकताकाे घाेषणा गर्दै देशका मूख्य सहरमा विरोध सभा गर्ने निर्णय गरेका छन् । ९ दलले आगामी माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने घाेषणा गरेका हुन् ।
विरोध सभा पछि संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने समेत संयुक्त विज्ञप्तिमा उल्लेख छ । बैठकले कार्यगत एकतासम्बन्धी आचार संहिता समेत बनाएकाे जनाइएकाे छ ।
शनिबार नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेकाे बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न जारी गरिएकाे संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ ।

वक्तव्यमा घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील समेत गरिएकाे छ ।