अनखबर माघ १३, काठमाडौं। मकवानपुर र सर्लाहीमा एनसेलको टावरमा आगजनी र विष्फोट भएको  छ ।

मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको टावरमा आगजनी हुँदा सामान्य क्षति पुगेको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ ।
प्रहरीले आगजनीको घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

यस्तै सर्लाहीको परवानीपुरस्थित उत्तरी चुरे क्षेत्रमा रहेको एनसेलको टावरमा गएराति विस्फोट गराइएको छ । सर्लाही प्रहरीका अनुसार लालबन्दी नगरपालिका– १६ स्थित एनसेलको मोबाईल टावरमा गएराति १ बजेटिर विस्फोट भएको हो

विस्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । विष्फोटका कारण क्षति पुगेपछि त्यस क्षेत्रमा एनसेलबाट हुने सञ्चार सम्पर्क अवरुद्ध भएको छ । विष्फोटको जिम्मा कसैले लिएको छैन ।