अनखबर माघ १४, रौतहट। विप्लव नेपाल कम्युनिस्ट पार्टीका रौतहट जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको हो । नेकपा नारायणी ब्युरोले गिरफ्तारीको विरोध गरेको छ । ब्युरो ईन्चार्ज शितलले प्रेस विज्ञप्ति जारी गर्दै माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको उल्लेख गरेका छन् ।
उनले दुवै जनालाई तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाई शान्तिपूर्ण भेला–सम्मेलन गर्नसमेत रोक लगाएको छ । हाम्रा नेता–कार्यकर्तालाई दमन, धरपकड र हत्या गरेको छ ।
यही प्रक्रियामा २०७६ माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी कमरेड सिसम शाही र पार्टी जिल्ला सदस्य कमरेड दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ । हाम्रो पार्टी यो हर्कतको घोर भत्र्सना गर्दछ ।’
ब्युरो इन्चार्ज शितलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई बिनासर्त रिहाइको माग गर्दछ । निर्दोष नेता–कार्यकर्तालाई रिहा नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सामाजिक फासिवादी दलाल सरकार स्वयम् हुनेछ ।’