अनखबर माघ १५, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटअनेरास्ववियु(क्रान्तिकारी)ले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको कुनै औचित्य नभएको बताएको
छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै अखिल क्रान्तिकारीले आफ्नो संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने र शान्तिपूर्ण गतिविधि हस्तक्षेप बन्द गरिनुपर्ने माग राखेको छ ।
उपत्यका क्षेत्रीय समन्वय समिति अन्तर्गत त्रिवि जिल्ला समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको टोलीले मंगलबार दुईबुँदे मागपत्र बुझाएको छ ।
आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतावनी समेत दिएको छ ।
अखिल क्रान्तिकारीको मागपत्र बुझ्दै उपकुलपति बास्तोलाले चुनावमा भाग लिने वातावरण बनाउन आफूले पहल गर्ने बताएका छन्। उनले अखिल क्रान्तिकारी चुनावमा आए शान्तिपूर्ण गतिविधिमाथि हस्तक्षेप र नेता, कार्यकर्ताको गिरफ्तारी नगर्नेबारे सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर समेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु चुनावको घोषणा गरेको छ ।