अनखबर माघ १५, बर्दिया।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले पार्टीका शुभ चिन्तक जय बहादुर ठाडा र सर्बसाधारण रोहित सुनारलाई बिना कारण अपहरण शैलीमा मंगलवार गिरफ्तार गरिएको भन्दै बिरोध गरेको छ ।

जिल्ला इन्चार्ज विकास र सेक्रेटरी प्रकाशमानले बुधबार विज्ञप्ति निकाल्दै गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरेका छन् ।

विज्ञप्तिमा पार्टीका निशस्त्र कार्यकर्ता जनसंगठन विस्तारको सिलसिलामा मधुवन नगरपालिकाको ढोडरीमा जनतासंग भेटघाट तथा छ्लफल गरिरहेको वेला गिरफ्तार गरिएको उल्लेख छ ।
सुराकीका कारण निशस्त्र कार्यकर्ता र जनतामाथि घेराहाली एकोहोरो फाइरिङ्ग गरी कार्यकर्ता र जनतालाई नियन्त्रणमा लिने प्रयास गरेको विज्ञप्ति जनाइएको छ ।

भिडन्त भनि गरिएको प्रचारलाई ने.क.पा.ले खण्डन समेत गरेको छ । ने.क.पा.ले विज्ञप्ति मार्फत घटना निन्दनीय भएको भन्दै कडा विरोध सहित घोर भत्सर्ना गरी गिरफ्तार जनतालाई यथासिघ्र रिहा गर्न माग गरेको छ ।