अनखबर माघ २०, डडेल्धुरा। डडेल्धुरामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई कारवाही गरिएको  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्पष्ट पारेको छ ।

नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका इन्चार्ज दौलत सिँह विष्ट र सेक्रेटरी विजयले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएका हुन् ।

जोशीलाई शुक्रबार आलिताल भन्दा करिब पाँच सय मिटर माथि चौर वण्डलेमा जोशीमाथिलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका इन्चार्ज दौलत सिँह विष्ट र सेक्रेटरी विजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘जोशीले मडेला खोला तटबन्धन र खेलकुद मैदान  निमार्णका साथै थुप्रै योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको, योजनाको अन्तिम भुक्तानीहुँदा समेत मजदुरको पारिश्रमिक नदिएको, समाजमा भ्रष्टाचार गरी विकृती मच्चाएको र हाम्रो पार्टी विरुद्ध सुराकी गरेकाले निज ज्ञानेन्द्र जोशीलाई हाम्रो पार्टीले चेतावनी स्वरुप सांकेतिक कार्वाही गरेको अवगत गराउँदछौ।’

साथै पार्टीले आगामी दिनहरुमा जोसुकैले पनि त्यस्ता कार्य गरे नछाडिने  चेतावनी समेत दिएको छ।