अनखबर माघ २२, काठमाडौं।विप्लव नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी २५ अौं जनयुद्ध दिवस मनाउने भएको छ ।

जनयुद्धको धाराबाट आएका विभिन्न समूहहरूमध्ये धेरैले जनयुद्धको विचार, राजनीति र भावनाप्रतिकूल प्रतिध्रुवीय बाटोमा हिडेको भन्दै जनयुद्धको भावना र मर्मलाई अझ माथि उठाउन २५ औँ जनयुद्ध दिवस मनाउन लागेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

फागुन १ गते नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँसहित देशका विभिन्न भागमा जनसभा र प्रदर्शन गर्ने तयारी गरेको छ । जनसभामा वक्ताहरूले जनयुद्धका सन्दर्भमा समसमायिक विचारसमेत प्रवाह गर्ने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू गरिने भएको छ । फागुन ५ गते भने देशव्यापी रूपमा साहित्यिक कार्यक्रमहरू गरिने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

जनयुद्ध दिवसको कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीले फागुन १० गते भारतले कब्जा गरेको भूमि फिर्ता गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति लिएको छ । जनयुद्ध दिवसका सन्दर्भमा नेकपाले पार्टीपङ्क्ति र जनताकाबीचमा पार्टीको यो वैचारिक, राजनीतिक र नीतिका सन्दर्भमा अभियानात्मक बहस चलाउने समेत बताएको छ ।