अनखबर माघ २२, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिम र कालिकोट जिल्ला संगठनले स्ववियू चुनावमा सहभागी हुने वातावरण बनाउन माग गर्दै क्याम्पसहरुमा मागपत्र बुझाएको छन् ।

संगठनमाथि लगाइएको अघोषित प्रतिबन्ध हटाउन त्रिभुवन विश्वविद्यालयले पहल गरि निर्वाध र शान्तिपूर्ण वातावरणमा स्ववियू निर्वाचनमा सहभागिता हुनसक्ने वातावरणको सिर्जना गर्न लगायतका माग गर्दै बुधबार रुकुम र कालिकोट जिल्ला‌ संगठनले मागपत्र बुझाएका हुन् ।

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले चुनाव हुने क्याम्पसमा मगपत्र बुझाएको छ । मागपत्रमा भनिएको छ,’हाम्रो संगठन अखिल(क्रान्तिकारी) लाई अघोषित प्रतिबन्ध लगाएर, हाम्रो अर्थपूर्ण र नेतृत्वदायी सहभागिता बिना हुने स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरुको हकहित र अधिकारको रक्षा तथा क्याम्पस प्रशासन र विद्यार्थीहरुबिचको सम्बन्ध सुदृढ र व्यवस्थित गर्न सक्दैन र त्यो सम्भव पनि छैन । साथै हाम्रो अर्थपूर्ण सहभागिता बिनाको स्वतन्त्र विद्यार्थी युनियनको कुनै औचित्य नहुने र त्यो हामीलाई मान्य नहुने कुरा स्ववियु निर्वाचन अगावै अवगत गराउन चाहान्छौँ ।’

त्रिभुवन विश्वविद्यालयले ०७६ फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय गरेसँगै अखिल (क्रान्तिकारी) ले देशभरका स्ववियू निर्वाचन हुने क्याम्पसहरुमा मागपत्र पेस गर्दै अाएकाे छ । स्ववियू निर्वाचनको वातावरण सहज बनाउन माग गर्दै अखिल (क्रान्तिकारी) कालिकोटले पनि बुधबार स्ववियू निर्वाचन हुने क्याम्पसहरुमा मागपत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी) कालिकोटले नन्दादेवी बहुमुखी क्याम्पस काेटवाडालाई मागपत्र बुझाएको हो । अखिल क्रान्तिकारी कालिकोटले स्ववियू चुनावमा भाग लिन त्रिभुवन विश्वविद्यालयले निर्णायक भूमिका खेल्नु पर्ने माग गरेको छ । मागपत्रमा भनिएको छ,’ मागहरू पूरा गरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गर्दछौं अन्यथा चरणबद्ध संघर्षका कार्यक्रम गरि चुनाव खारेज गर्न हाम्रो संगठन बाध्य हुनेछ ।’