अनखबर माघ २२, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापति गच्छदार, तत्कालीन समयमा भूमिसुधारमन्त्री रहेका डम्बर श्रेष्ठ, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी, पूर्वसचिव छविराज पन्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जग्गा हिनामिना प्रकरणमा अख्तियारले अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला शाह, पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाईविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। उनीहरुसहित जग्गा प्रकरणमा १७५ जनाविरुद्ध कारवाहीको माग गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले सोही प्रकरणमा हाल चितवन जिल्ला अदालतमा रहेका न्यायाधीश विनोदकुमार गौतममाथि पनि मुद्दा दायर गरेको छ। भूमाफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ। बालुवाटार जग्गा आफ्नै नाममा ल्याउन नक्कली मोही खडा गरेको आरोप उनीहरूमाथी छ।

गत बिहीबारमात्रै बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएकोबारे छानविन गर्न गठित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानविन सकेर प्रतिवेदन बुझाएको थियो। सीआईबीको छानविन टोलीले ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा कारवाहीका लागि सिफारिस गरेको थियो।

अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । उनीहरुसँगै पूर्व मुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको हो ।
सीआईबीको टोलीले पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिको प्रतिवेदनलाई आधार मानेर विस्तृत छानविन गरेको थियो।