अनखबर
माघ २८, भैरहवा
केही समय अगाडी लुम्बिनी प्रेस फेस्टिबल २०७६ गरेर चर्चा कमाएको रुपन्देहीको लुम्बिनी प्रेस क्लबले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ । सांसद एवं मन्त्रीसमेत रहेका घनश्याम भुसालको संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाखको सहयोगमा १० धुर जग्गामा निर्माण हुन लागेको ४ तल्ले भवनको मंगलबार शिलान्यास गरिएको क्लबले जनाएको छ । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा ४ तले भवन बन्न लागेको हो । कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषितर्फ किसान तथा अन्य नागरिक आकर्षित हुने परिस्थिति बन्ने बताएका छन् । उनले कृषिमा लाग्ने नागरिकको उद्यम नडुब्ने, मिहिनेत खेर नजाने र यो क्षेत्रमा पसिना बगाउने व्यक्ति सुरक्षित हुन्छन् भन्ने मानसिकताको विकास गराउन सरकार लागेको बताए । मन्त्री भुसालले भने, “करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु अब के गर्नुपर्ने हो, त्यसतर्फ म करिबकरिब खुट्टा टेक्ने स्थानमा छु, कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरुको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्नेतर्फ काम अगाडी बढाएका छौं । उनले कृषि तथा पशुपन्छी मन्त्रालयसंग सम्बन्धित विभिन्न विषयहरु धेरै रहेकोले आफु मन्त्रालयको सम्हालेपछि बीचमा केही आत्तिएको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेको भुसालले विकासको लागि पार्टीकरण गर्न नहुने र यस क्षेत्रलाई सबैको विकासको थलो बनाउनुपर्ने बताए । विकासमा राजनीतिकरण आफुले नगर्ने भन्दै अरुले कसैले पनि राजनीतिकरण गर्न नहुने उनले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुसालले सिद्धार्थनगरवासी सामूहिक रुपमा अगाडी बढ्न संकल्प गरे ५/७ वर्षमै धेरै लामो यात्रा तय गर्न सकिने बताए । ढुंगा, माटो र कंक्रिटको कुरा गर्ने तर मान्छेको विकासको कुरा नगर्ने कुराले समग्र विकास हुन नसक्ने उनले बताए ।

लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको लुम्बिनी न्यूज फेस्टिबलपछि त्यसले नयाँ तरङ ल्याएको बताए । उनले आफ्नो शक्ति आफै थाहा नपाउने र त्यो अरुले भन्नपुर्ने स्थिति देखिएको बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पत्रकारको कलम जनता तथा विकासको पक्षमा चल्नुपर्ने बताए । उनले मिडियाले गलत कुराको उजागर गर्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य फखरुद्दीन खानले मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने बताए । उनले दुई वर्षमा अपेक्षित रुपमा सरकारले काम गर्न नसकेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएको बताए । उनले अन्य क्षेत्रबाट पनि यस्तै सहयोग भए लुम्बिनी प्रेस क्लबको भवन निर्माण कार्य छिट्टै सम्पन्न हुने बताए । पूर्व सांसद इस्तियाक अहमद खानले मिडियाले सरकारको कमीकमजोरी औल्याउनुपर्ने बताए । उनले सकारात्मक कुरालाई पनि मिडियाले प्राथमिकता दिनुपर्ने बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले क्लबलाई गाउँपालिकाबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अरु संस्थाको भवन शिलान्यास भएको समाचार लेख्ने पत्रकारहरुको आफ्नै संस्थाको भवन शिलान्यास हुनु प्रशसंसनीय रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले भवन निर्माणमा नीजि क्षेत्रको साथ र सहयोग रहने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले लुम्बिनी प्रेस क्लबले सक्रियताका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाएको बताए ।

क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के.सी.को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।