अनखबर फागुन १, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभर विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको  छ ।

२५ औँ जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र यसका जनवर्गीय संगठनले बिभिन्न कार्यक्रम गरेर मनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले नेकपा क्रान्तिकारी माअाेवादीसंग संयुक्त रुपमा शुभकामना अदान प्रदान गरेर दिवस मनाएको हो । स्याङ्जाको भालुपहाडमा राखेको हिजो  झन्डा र ब्यानर निकालेको थियो भने पोष्टर च्यातेको नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले जनाएको छ ।
बाजुरा कारागारमा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पनि जनयुद्ध दिवस मनाएका छन् । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य चुडामणि अोली अदर्श थिए भने कार्यक्रमको अध्यक्षता मधुविलास रावत र सञ्चालक डम्मर बहादुर सुनार थिए ।

सर्लाहीको पीपलदमारमा २५ औँ जनयुद्ध दिवस सम्पन्न भएको छ । कार्यक्रममा ब्युरो सदस्य सचिन गोपालले सम्बोधन गरेका थिए भने सञ्चालन विकल्पले गरेका थिए ।
वक्ताहरूले महान् जनयुद्धका मूल्यमान्यताबाट स्खलित प्रतिक्रान्तिकारी, आत्मसमर्पणवादी र सुधारवादीहरूले जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लिलाममा बिक्री गरेको बताए । उनीहरूलाई एकीकृत जनक्रान्तिको सङ्ग्राामबाट खबरदारी गरिने पनि वक्ताहरूले बताए । महान् जनयुद्धमा बगेको रगत, पसिना र आँसुको अधुरो सपनालाई पूरा गरिछाड्ने दृढ प्रतिबद्धता सचिन गोपालले व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी डोटीले डोटीले बिद्यालयलाई खेल सामग्री वितरण गरी २५ औँ जनयुद्ध दिवस मनाएको छ । जिल्ला इन्चार्ज तर्कराजको अध्यक्षातामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सेती–महाकाली ब्युरो कार्यालय सचिव विपीन रहेका थिए । जिल्ला सचिव कालु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनता र अभिभावकको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा ब्युरो कार्यालय सचिव विपीनले देश र जनताको मुक्ति नहुन्जेलसम्म क्रान्ति जारी रहने बताए । जनता निराशामा रहेको, जनताको मुक्ति नभएको र जनयुद्धका सबै विषयमा प्रचण्ड–बाबुरामले धोका दिएकाले क्रान्ति जारी राख्नुपर्ने अवस्था आएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी कैलालीले पनि जिल्लाका विभिन्न स्थानमा २५औं जनयुद्ध दिवस  मनाएको छ । कैलालीका बर्दगोरिया, गौरिगंगा र धनगढी नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो । जनयुद्धको वार्षिकोत्सवको अवसरमा टिका लगाएर शुभकामना आदान प्रदान, मिठाई वितरण गरिएको धनगढी नगर इन्चार्ज अनमोलले बताए ।

अखिल (क्रान्तिकारी) कैलालीले २५ औँ  जनयुद्ध दिवसका अवसरमा जिल्लाका लम्की, घोडाघोडी, अत्तरियालगायत विभिन्न ठाउँमा ब्यानर प्रदर्शनसहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी विद्यार्थीमाथिको दमन र धरपकडको प्रतिरोध गरौँ ! वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सङ्घर्ष गरौँ !! भन्ने नारासहित प्रदर्शनसहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले २५ औं जनयुद्ध दिवस जनताको बिचमा शुभकामना आदानप्रदान गरेर भव्यताका साथ मनाएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रमको सभाध्यक्ष एरिया नं. ३को सेक्रेटरी मिलन कुमारले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला सचीव राजकुमार, अतिथिहरु युवा संगठन नेपाल भे-क इन्चार्ज दीप, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य विकल्प, युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष विवश, अखिल (क्रान्तिकारी) जाजरकोट अध्यक्ष  विजय लगायतले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले शुभकालिका छातिमा जनयुद्ध दिवस मनाएको छ ।