अनखबर
फागुन ५/काठमाडौ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार भएका छन् ।
प्रहरीले सोमबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको बताइएको छ । पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि जनयुद्ध दिवसकै दिन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालसहित ३ विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल (क्रान्तिकारी) ले आफ्नो संगठनका केन्द्रीय अध्यक्षलाई गिरफ्तार गरिएको विरोधमा आम शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारीले अध्यक्ष लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।

क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । विज्ञप्तिमा जनाईएअनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रद’र्शन, १३ गते मशाल जुलुश र १४ गते आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्षलाई यही फागुन १ गते जनयुद्ध दिवसको दिन सुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको थियो ।