अनखबर
फागुन ५/ काठमाडौ
जबर्जस्ती करणी उद्योगको मुद्दा खेप्ने क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा १ सय ३५ दिन थुनिए । १९ असोजमा पक्राउ परेका उनी आज अर्थात् ५ फागुनमा छुटेका छन् ।
१२ असोज राति संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीको डेरामा गएर उनीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि महरा १९ कात्तिकमा पक्राउ परेका थिए ।
त्यसको करिब एक महिना अर्थात् १८ असाेजमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
कारागारमा महरा टोलाएर बस्थे । समय गुजार्न उनी लुँडो, चेसलगायतका खेल पनि खेलेनन् । उनलाई भेट्न पुग्ने धेरै नेताहरूलाई उनले भेट दिएनन् । परिवारका सदस्यसँग पनि बिरलै भेट्थे ।
महराले आफूमाथि ‘षड्यन्त्र’ भएको दाबी गर्दै आएका थिए । उनको यो दाबी ‘आदि सत्य’ देखिएको छ । किनकि, उनलाई अदालतले सफाइ दिएको छ । अब आदि सत्य पुष्टि गर्ने जिम्मा उनैको काँधमा छ ।
उनको भाषामा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई आफूविरुद्धको ‘माेहरा’ बनाइएको थियो । अब महराले नै देखाउनुपर्नेछ, आखिर रोशनीलाई कसले माेहरा बनायो ? किन बनायो ?
अदालतबाट महराले सफाइ पाए पनि सर्वसाधारणमा उनीबारे थुप्रै प्रश्न बाँकी नै रहेको ठम्याउन सकिन्छ, सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीबाट । महरालाई छाडेकोप्रति धेरैले अदालततिर पनि औंला तेर्स्याइरहेका छन् ।
कतिपयले ‘शक्तिको आड’मा महरालाई छाडिएको टिप्पणी गरेका छन् । तर, यसो हुन्थ्यो भने महरा पुर्पक्षका लागि थुनामै पर्दैन थिए होला । उतिबेलै धेरौटी तिरेर रिहा भइसकेका हुन्थे ।
तर, महरालाई १ सय ५ दिनसम्म थुनेर राखिएको छ ।
अर्कोतिर अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नमानेकाले महरालाई फसाइएको भन्नेहरूको पनि कमी छैन । महरा जेल गएपछि एमसीसीको विषयमा ठूलो बहस भयो । उनको ठाउँमा नयाँ सभामुख आइसके ।
अब महराका अगाडि सांसद पद मात्रै बाँकी छ । उनको राजनीतिक जीवनमा हिलो छ्यापिएको छ ।
अदालतले सफाइ दिए पनि राजनीतिक जीवनमा छ्यापिएको हिलोको दाग मेटाउनु महराका लागि चानचुने कुरै होइन । उनीमाथि षड्यन्त्र नै भएको हो भने उनले यसबारे जनतामा के भन्छन्, कस्तो कदम चाल्छन् जस्ता कुराले उनको बाँकी राजनीति कस्तो हुने भन्ने कुराको निरिक्यौल गर्नेछ ।