अनखबर
फागुन ५/ बुटवल । रुपन्देहीमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–३ थुम्हवाकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको रुपन्देही प्रहरीले बताएको छ । गाउँमा महायज्ञ चलिरहेको बेला आइतबार राती ११ बजे आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । किशोरीको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतमा छन् । किशोरी अस्वस्थ हजुरबुवा, एक बहिनी र भाईसँगै बस्दै आएकी थिइन् । बलात्कारमा संग्लन तीन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक चित्र बहादुर घलेले जानकारी दिए । उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।