फागुन ७,काठमाडौं । सञ्चार एवं प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा तानिएपछि उनले आजै राजीनामा दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बास्कोटाले प्रधानमन्त्रीलाई राजिनामा बुझाएको जानकारी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिसन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री बास्काेटा बिवादमा तानिएका थिए ।

उनी २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए । तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री बनेका थिए। प्रधानमन्त्री केपी शर्मा अोलीको विश्वास पात्र रहेका मन्त्री बास्कोटा खरो शैलीमा प्रस्तुत हुने गर्थे तर खरो शैलीका बास्कोटाको बहिर्गमन नमिठो र अप्रत्यासित ढंगले भएको छ ।