फागुन ८, काठमाडौं। नेपाल बार एशोसिएशनले अधिवक्ता एवं अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गर्न माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य र अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ ।

‘कुनै पनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानूनको शासन नभएको सङ्केत हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधान कानूनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटकपटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उहाँलाई थुनामा राखेको छ ।

बारले नागरिकको मौलिक तथा मानव अधिकार रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।