फागुन ९, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीकै संलग्नता भएको आशङ्का गरेको छ । पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कारबाही गर्न पनि माग गरेका छन् ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।’

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी वली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।’

महासचिव विप्लवले यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गरेका छन् ।

सरकारले एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको महासचिव विप्लवले अापत्ति जनाएका छन् ।

फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको भन्दै यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग विज्ञप्तिमा गरिएको छ ।’