फागुन ११ /काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन। यसअघि पनि फागुन ११ आउँथ्यो- जान्थ्यो। चार वर्षअघि त भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीको जन्मदिन परेको थियो। त्यतिबेला छोटे भाइ भनेर जन्मदिनको शुभकामना दिने तत्कालीन विदेशमन्त्री सुषमा स्वराज बितिसके। यस पटक भने उधुमै भयो। गाउँपालिकामा सार्वजनिक विदा दिइयो, हेलिकप्टरमा चार्टर गरेर प्रधानमन्त्रीका लागि बडेमानको केक प्रधानमन्त्री जन्मिएको गाउँ लगियो। त्यो केक नेपालको नक्साको आकारको रहेछ। कसले बनाउन लगाएको यस्तो नेपालको नक्सा भएको केक भनेर हाम्रा राष्ट्रवादी प्रधानमन्त्रीज्युले सातो खानुको साटो खुरुक्क चक्कुले काटेर आफू खाएर अरुलाई पनि खुवाए। हामी जाबो निरीह जनता हेरेका हेरै भयौँ। नागरिकता नै भएको कारण हाम्रो पनि हक थियो यो देशमा। तर हामीलाई थाहै नदिई काटेर खाएछन्।


यो उपद्रो गर्ने आइडिया कसको हो, त्यो थाहा भएन। जो भए पनि प्रधानमन्त्री कै निकटको सहयोगी हुनुपर्छ। यो केक कसले कहाँ बनाएको रहेछ भन्ने चाहिँ पत्ता लाग्यो।
प्रधानमन्त्रीका लागि आठराई गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर केक लगिएको थियो। संयोगले त्यतिबेलाको भिडियो खिचिएको रहेछ। भिडियोमा बडेमानको केक प्याक गरिएको छ। त्यसमा लेबल पनि प्रष्टै देखिन्छ।
चिनियाँ दूतावास अघिल्तिरको बेकरीले बनाएको थियो केक
यो हो हेलिकप्टरभित्र रहेको डोरीले बाँधेर राखिएको केकको बट्टा।यसमा रहेको लोगो हेर्नुस् त के लेखिएको छ। त्यसमा बिग बेक देखिन्छ।(my संसार)