फागुन १४, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहिद सप्ताह सुरु भएको अवसरमा बुधबार विज्ञप्ति निकाल्दै विप्लवले काण्डै काण्डमा मुछिएको वर्तमान सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यस एकीकृत जनक्रान्तिको रगत पसिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘मानव जातिको मुक्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् त्यसमा सबै भन्दा महान र स्वाभिमान सहिदहरु नै हुन । तर शान्ति प्रक्रियामा आएपछि उनीहरुप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौं । जनयुद्धका सहिदहरुको रगतमाथि एकीकृत जनक्रान्तिका महान सपुतहरुको रगत मिसिएको छ ।’

महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘काण्डै काण्डमा मुछिएको वली सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी तत्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुने सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।’