फागुन १७ /बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यतिबेला सहिद सप्ताहा मनाईरहेको छ । फागुन १४ गते जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसबाट एक हप्तासम्म सहिद-बेपत्ता परिवारजन भेटघाट, श्रमदान, सहयोग तथा सम्मान गरि मनाउदछ । यहि शिलशिलामा शनिबार नेकपा कपिलवस्तुले आफ्नो जिल्लाका सहिद तथा वेपत्ता परिवारजनहरुलाई सम्मान गरेको छ । कार्यक्रमकै विचमा नेकपाले सहिद परिवारलाई नै लक्षित गर्दै ४ लाख २५ हजारको सहिद-बेपत्ता कोष समेत स्थापना गरेको छ ।
सहिद सम्मान कार्यक्रमको जिल्ला सेक्रेटरी शेरमानले अध्यक्षता गरेको थिए भने प्रमुख अतिथि जिल्ला इन्चार्ज जुझारु थिए भने लुम्बिनी ब्युरो सदस्य सुनिल अतिथि थिए । सञ्चालन पावेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष, सहिद तथा बेपत्ता परिवार सङ्गठन नेपालका लुम्बिनी ब्युरो सदस्य जया पौडेललगायत अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमका वक्ताहरूले सहिद तथा बेपत्ता योद्धाहरूको सपना पूरा नभएको बरु तत्कालीन मुख्य नेतृत्वले धोका दिएकाले अब एकीकृत जनक्रान्तिमार्फत ती अधुरा सपना पूरा हुने बताएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि जुझारुले ०५२ सालमा मुक्तिकालागि भनेर क्रान्तिको जुन झन्डा उठाइएको थियो त्यसकालागि अझै पनि निरन्तर लागिपरेको बताए । उनले भने, ‘०५८ सालमा आतङ्ककारी विधेयक पास गर्न सघाउने एमालेसँग पार्टी एकता गरेर प्रचण्डले आफू प्रतिक्रान्तिको नाइके भएको स्पष्ट पारेका छन् । बाबुराम उपेन्द्रको टाङमुनि छिरेर गैरकम्युनिस्ट कित्तामा खडा भएकाले जनतालाई को ठीक को बेठीक भन्ने छुट्ट्याउन सजिलो भएको छ ।’
राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष सुनिलले वैज्ञानिक समाजवाद स्थापना गरेर मात्रै सहिदका सपना र जनता तथा राष्ट्रको आवश्यकता पूरा हुने बताए । उनले एकीकृत जनक्रान्तिमा प्रतिबद्ध हुन र साथ दिन सहिद परिवार तथा बेपत्ता परिवारलाई आह्वान गरे ।


कार्यक्रमका अध्यक्ष जिल्ला पार्टी सेक्रेटरी शेरमानले आफ्नो वर्गको मुक्तिकालागि एकताबद्ध भएर लड्नुको विकल्प नभएको बताए । उनले यही बाटोबाट मात्र सहिदको बलिदानीको लक्ष्य पूरा हुने पनि प्रस्ट पारे ।
वक्ता जया पौडेलले भनिन्, ‘मेरो जीवनसाथी जुन उद्देश्य लिएर सहिद हुनु भएको थियो त्यो जुनकुनै हालतमा पूरा गहुन्छ । आवश्यक परे म पनि बलिदान दिन तयार छु ।’
वक्ताले हिजो क्रान्ति सिध्याउन गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको भूमिका आज प्रचण्डले र हिजो खुमबहादुर खड्काले निर्वाह गरेको भूमिका आज रामबहादुर थापा बादलले निर्वाह गरेको पनि बताए ।

वक्ताहरुले आफ्ना परिवारजनले केका लागि सहादत प्राप्त गरेका थिए, त्यसलाई सार्थक बनाउन गम्भीर भएर सोच्नुपर्ने उनीहरुको भनाइ थियो । उनीहरुले भने, ‘आज सहिदको नाम बेचेर दलाली गरेको देखिएको छ । तिनले जनयुद्धको मूल मर्म र उद्देश्य छाडिसकेका छन् । एमालेले कहिल्यै जनयुद्ध दिवस नमानेको र सहिद परिवारले काङ्ग्रेसलगायत अरू पार्टीको झन्डा बोक्ने अवस्था उत्पन्न हुुनु लज्जास्पद भएको वक्ताको धारणा थियो ।
अनुभूति राख्दै सहिद रेखबहादुर थापाकाबुवा भेबहादुर थापाले दलाल राज्यले सहिद प्रतिष्ठानमाथि अनावश्यक दुःख दिएको बताए । उनले सम्पूर्ण सहिद परिवार एक हुनुपर्ने धारणा राख्दै आवश्यकताअनुसार फेरि पनि क्रान्तिको झोला बोक्न आफूहरू तयार भएको बताए ।
अनुभूति राख्ने क्रममा सहिद राजशङ्करकी आमाले आफू पनि आवश्यक परे बलिदान दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले तर अन्यत्र नजाने र आफ्नो घरमा बस्दा सधैँ पार्टीलाई सम्झने गरेको पनि बताइन् । उनी सहादतअघि छोराले भनेको कुरा स्मरण गर्दै भावविह्वल बनिन् । उनले हिजो जनयुद्धकालमा नेताहरूले दिएको आश्वासन र ढाडसको स्मरण गराउँदै भनिन्, ‘लाखौँ क्रान्तिकारी छोराछोरी बनाउने अभियानमा छौँ। एउटा छोराको चिन्ता नलिनुस् भन्ने नेताहरू आज सत्तामा पुगेपछि सहिद र तिनका सपनालाई बिर्सिए ।’