फागुन २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले लुटपाट गरी हतियार सङ्कलन गर्ने आफ्नो पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।
कैलालीको कैलारी गाउँपालिका वडा नं. ३ बर्कामुडा निवासी रामभरोस चौधरीको घरबाट मुकुन्डोधारीहरूले २ थान भरुवा बन्दुक लुटेको घटनामा पार्टीको नाम जोडिएपछि नेकपा कैलालीले अपत्ति जनाउँदै खेदजनक व्यक्त गरेको छ ।
कैलाली जिल्ला सेक्रेटरी करणले विज्ञप्ति जारी गरी लुटपाटमा संलग्न समूहले पार्टीको नाम जोड्नु खेदजनक रहेको भन्दै पार्टीलाई बदनाम गराउने समूह खोजी कारबाही गर्ने जनाएका छन् ।
करणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ करिब ९–१० बजेतिर कैलारी गाउँपालिका वडा नं. ३ बर्कामुडा निवासी रामभरोस चौधरीको घरबाट ५–६ जनाको समूहमा गएका अज्ञात मुकुन्डोधारीहरूले २ थान भरुवा बन्दुक लुटपाट गरेर भागेको र लुटपाटमा संलग्न लुटेरा समूहले हाम्रो पार्टीको नाम जोडेर लुटेको विषय खेदजनक छ ।’
विज्ञप्तिमा करणले भनेका छन्, ‘यस्ताखाले लुटपाटका घटनामा हाम्रो पार्टी संलग्न नरहेको र यस्ता हतियार कब्जा गर्ने पार्टीको कुनै नीति नरहेको कुरा प्रस्ट पार्नुका साथै पार्टीको नाम जोडेर बदनाम गरी पार्टीविरुद्ध भ्रम छर्ने लुटपाट गिरोहको भरमा नपर्न आमजनसमुदायमा अपिल गरिन्छ ।’
नेकपालर लुटपाट समूहको खोजी गरी आवश्यक कारबाही गर्ने स्पष्ट पारेको छ ।