फागुन २८, बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले १ दिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज भीमले नेपालमा दलाल पुँजीवाद र नेपाली जनतावीच प्रधान अन्तरविरोध रहेको बताएका छन् । उनले दलाल पुँजीवाद साम्राज्यवाद र सामन्तवादको अवैध सन्तान भएको भन्दै यसले जनतालाई शोषण दोहन गरेको बताए । उनले यसको विकल्पमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा मार्फत प्राप्त हुने वैज्ञानिक समाजवादले मात्र जनतामा स्थायी शान्ति, समृद्धि, समानता र सभ्यता सहितको विकास हुने बताए । उनले नेपालमा साम्राज्यवादका दलालहरुले एमसीसी पास गराउन खोजेपनि त्यो सफल नहुने समेत बताए ।


अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव तथा मध्यकमाण्ड इन्चार्ज प्रकाश शाहीले अहिलेसम्मको विद्यार्थी आन्दोलन सम्झौतामा टुङ्गिएको भन्दै अवको विद्यार्थी आन्दोलन धोका नहुने गरी हुने बताए । उनले शिक्षा क्षेत्रमा भएको माफियाकरण, व्यापारिकरण र भ्रष्टीकरण विरुद्ध अखिल (क्रान्तिकारी) ले सम्झौताहिन सङ्घर्ष गर्ने बताउदै वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरुको सुनौलो भविष्य सुनिश्चित गर्ने बताए । महासचिव शाहीले आजको पुँजीवादी शिक्षाले देशको विकराल अवस्थाको समाधान गर्न नसक्ने भन्दै यसको विरुद्धमा सङ्घर्ष गर्न देशभक्त, प्रगतिशील विद्यार्थीहरुलाई संगठनमा गोलबन्द गर्नुपर्ने दायित्व रहेको बताए । केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले संगठनलाई सुदृढ गरी विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै लुम्बिनीको विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाइने बताए ।

राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अखिल (क्रान्तिकारी)को इतिहास, वर्तमान र भविष्य, वर्तमान शैक्षिक अवस्था र वैज्ञानिक समाजवादी शिक्षा, शिक्षा क्षेत्रमा देखिएको माफियाकरण, व्यापारीकरण र भ्रष्टीकरण, संगठन, शिक्षा र कम्युनिस्ट आन्दोलन, एकीकृत जनक्रान्ति र वर्तमान अवस्था, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र समसामियक राजनीतिक, शैक्षिक अवस्थाका बारेमा प्रशिक्षण भएको लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले बताए । प्रशिक्षणमा लुम्बिनी क्षेत्रीय समन्वय समिति अन्तर्गत रहेका सबै जिल्लाहरुबाट ५० जनाको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
कार्यक्रम लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज भीमको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रमेश गैरेको स्वागत र केन्द्रीय सदस्य रुपा बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ब्युरोको १३ औ बैठकको सर्कुलर बाचन संगठनकि केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शारदा भण्डारीले गरेकी थिइन् ।