एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई ‘महामारी’को दर्जा दिएको छ । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो ।

यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसलाई ‘महामारी’ को संज्ञा दिन उचित ठानेको थिएन । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ ।

डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस अधनुम घेब्रेयेससले भाइरसको सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई महामारीको संज्ञा दिइएको बताए ।

मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ ।

पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।

नयाँ भाइरसले यस्तो महामारीको अवस्था ल्याउने सम्भावना बढी हुन्छ जो मानिसबाट मानिसमा सजिलैसँग सर्ने र निरन्तर प्रभाव जमाउन सक्षम हुन्छ । कोरोनाभाइरस अहिले यही क्रममा देखिएको छ । यसको हालसम्म कुनै प्रकारको खोप वा उपचार पत्ता लागिसकेको छैन ।

यसअघि नै डब्ल्यूएचओले कोरोनाभाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएको थियो । यद्यपि महामारी संज्ञा दिने अवस्थामा पुगेको आधारहरु देखा नपरेका कारण यसअघि डब्ल्यूएचओले यसलाई ‘महामारी’ शब्द प्रयोग गरेको थिएन ।

पछिल्लो समय यो भाइरस विश्वका ११४ मुलुकमा फैलिएको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ ।

‘केही मुलुक क्षमताको अभावसँग जुधिरहेका छन्, केही मुलुक संशाधनको अभावसँग जुधिरहेका छन् र केही मुलुक संकल्पको अभावसँग जुधिरहेका छन्,’ डब्ल्यूएचओ प्रमुख डा। टेड्रोसले भने ।

उनका अनुसार डब्ल्युएचओले सबै देशलाई आपतकालीन जिम्मेवार संयन्त्रलाई सक्रिय र विकास गर्न भनेको थियो । त्यस्तै जनतालाई यसका जोखिम र आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी दिन पनि भनिएको थियो । यस्तै प्रत्येक संक्रमितलाई आइसोलेसनमा राख्ने, परीक्षण र उपचार गर्ने तथा सम्पर्कमा आएका सबैलाई पहिचान गर्नेबारे पनि डब्ल्यूएचओले ध्यानाकर्षण गराएको उनले बताए ।