काठमडौं, ०४ चैत । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन जनयुद्धका क्रममा बेपत्ता पारिएका व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
आज आयोगले तत्कालीन माओवादी र सरकारी पक्षबाट बेपत्ता पारिएका दुई हजार पाँच सय ६ जनाको नाम सार्वजनिक गरेको हो । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ ।
बेपत्ता व्यक्तिबारे कुनै सूचना वा प्रमाण भएमा त्यसबारे जानकारी गराउन टोल फ्री नम्बर १६६०–०१-२२१११ मा सम्पर्क गरेर अथवा कार्यालयमै पुगेर सूचना दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार बेपत्ता पारिएकाहरूका बारेमा थप प्रमाण, कागजात संकलनको काम भइरहेको छ ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनामा सबैभन्दा बढी बर्दियाका २ सय ५४ जनाले आफन्तको खोजीका लागि निवेदन दिएका छन् । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पाबाट ९७ जना र रुकुमबाट ४५ जनाका आफन्तले आयोगमा यथार्थ जानकारी दिन माग गरेका छन् ।
यसैगरी दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०\४०, काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् । (न्युज२४)