चैत १०, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी व्युरोले विपतको बेला कालोबजारी गर्ने माफियाहरुलाई कारवाही गर्ने बताएको छ । साथै संगठनले कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन लुम्बिनी क्षेत्रका युवा तथा श्रमजीवी जनतालाई अपील गरेको छ ।
वर्तमान केपी ओली नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार र संवेदनहीन भएको भन्दै भारतसँग सिमाना जोडिएका जिल्लाहरु कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुरका जनता यसबाट सङ्क्रमणको जोखिममा रहेको बताएको छ ।

सोमबार व्युरो इन्चार्ज विश्लेषणले एक प्रेस विज्ञप्ती जारी गर्दै यसको रोकथाम, सचेतना र पर्याप्त तयारी नगरी सरकार उदासिन र गैरजिम्मेवार भएको बताएका छन् । उनले विज्ञप्तीमा विदेशमा रहेका लाखौं युवाहरुबारे सरकार जिम्मेवार नभएको बताउदै विपतको बेला केही दलाल, भ्रष्ट, माफियाहरुले जनताको दैनिक खाद्यपदार्थ, यातायात, ग्याँस, तेल लगायत वस्तुभाउहरुमा कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने बताएको छ ।

यस्तो छ विज्ञप्ती–

प्रेस–विज्ञप्ती
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वलाई प्रभावित बनाएको छ । विशेषतः विभिन्न देशमा रहेका लाखौं नेपाली युवाहरु समेत यसबाट प्रभावित भएका छन् । यसबारे केपी वली नेतृत्वको सामाजिक दलाल सरकार गैरजिम्मेवार र संवेदनहीन बनेको छ । भारतसँग सिमाना जोडिएका लुम्बिनीका कपिलवस्तु, रुपन्देही, नवपरासी, नवलपुरलगायत जिल्लाका जनता यसबाट सङ्क्रमित हुने प्रबल सम्भावना बढ्दै गएको छ । यसको रोकथाम, सचेतना र पर्याप्त तयारी गर्नुको सट्टा सरकारले उदासिनता देखाएको छ । जनताको स्वास्थ्यप्रति सरकारले गरेको चरम लापरबाही र गैरजिम्मेवारीपन निन्दनीय छ । यसबाट बच्नका लागी लुम्बिनीका ७ वटै जिल्लाका युवा तथा विद्यार्थी, बुद्धिजीवी, श्रमजीवी वर्ग, व्यापारी उद्योगी, यातायात व्यवसायीलगायत सम्पूर्ण जनसमुदायलाई यो सम्भावित महामारीबाट सचेत हुन अपील गर्दछौं । यही विपतको मौका छोपेर दलाल सत्ताको आडमा केही दलाल, भ्रष्ट र माफियाहरुले जनताले दैनिक प्रयोग गर्ने अत्यावश्यक खाद्यपदार्थ, ग्याँस, तेललगायत वस्तुभाउ र यातायातमा यात्रुहरुलाई महङ्गो भाडा लिएर ठगी र कालोबजारीलाई तीव्र पारेको छ । जनतालाई ठग्ने दलाल, माफिया, भ्रष्ट, लुटेरा र कालोबजारियाहरुलाई हाम्रो संगठनले कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छ । यो विपतको समयमा हाम्रो संगठन देशभक्त युवा र श्रमजीवी जनताको पक्षमा सदैव सङ्घर्षरत रहने जानकारी गराउँदछौं ।
…………..
इन्चार्ज
विश्लेषण
१० चैत, २०७६