काठमाडौं, १६ चैत । पहिलो एक साताको लकडाउनमा सर्वसाधारणको हिडडुँल र बाहिरी गतिविधि नरोकिएको र यसबीचमा कोरोना भाइरस कोभिड १९ संक्रमित व्यक्ति थपिएपछि सरकारले लकडाउन अवधि थप्ने निश्चित भएको छ ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको अवधि थप एक साता बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद्को वैठकले समितिको सिफारिस अनुमोदन गर्दै लकडाउन अवधि थप्ने निर्णय गर्ने भएको बताइएको छ ।
मन्त्रिपरिषद् वैठकले लकडाउनले मारमा परेका विपन्न वर्ग तथा दैनिक ज्याला मजदूरी गर्नेहरुलाई राहत प्याकेज घोषणा गर्ने निर्णय पनि लिने भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले विपन्न वर्गका लागि दिइने राहतको बारेमा पनि निर्णय लिदै सरकारलाई सिफारिस गरेको बताइएको छ ।
सरकारले यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।
यो घोषणासंगै देशभर अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको थियो । सरकारले समितिको सिफारिस अनुमोदन गरेपछि मुलुक पुनः चैत २५ गते लकडाउनमा जाने छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय उडाउमा लगाएको रोक पनि बढाएर नयाँ बर्ष २०७७ सालको वैशाख ३ गतेसम्मका लागि पु¥याउने बताइएको छ ।
यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।
यसैबीच गृहमन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेमा संक्रामक रोड नियन्त्रण ऐन २०२० अनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय तोक्ने भएको छ ।