चैत १८, बुटवल । नेकपा रुपन्देहीले देश कोरोना भाइरसद्धारा गम्भीर भएको अवस्थामा वली सरकारले जनताको न्युनतम स्वास्थ्य उपचार र दैनिक जनजीविकाप्रति चासो नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेकपा जिल्ला इन्चार्ज सङ्गमले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना रोग र लकडाउनका कारण जिल्लाका श्रमजीवी जनताको जीवन दननीय हुँदै गएको र जनताले न्युनतम स्वास्थ्य उपचार नपाएको बताएका छन् ।
देश सङ्कटमा रहेका बेला वली सरकार गम्भीर नभएको बरु उल्टै जनताका लागी आएको मेडिकल सामग्रीहरुको खरिद तथा वितरणमा गम्भीर भ्रष्टाचार गरेको भन्दै कडा आपत्ति जनाएको हो । नेकपा रुपन्देहीले विरामीहरुले उपचार नपाएर छटपटिनु परेको र केही निजी मेडिकलहरुले विरामीलाई फर्काएर न्युनतम मानवीय संवेदना गुमाएको समेत बताएको छ । विज्ञप्तीमा सङ्कटको बेला केही कालाबजारीयाहरुले क्रृत्रिम अभाव देखाएर महङ्गी बढाई जनतालाई दुःख दिएको भन्दै उनीहरुलाई कारवाही गर्ने समेत बताएको छ । इन्चार्ज सङ्गमले महामारी फैलिएको कोरोना भाइरसबाट सचेत हुन र देशलाई सबैप्रकारको सङ्कटबाट मुक्त गर्नका लागी जिल्लाबासी जनसमुदायलाई जागरुक हुन अपील समेत गरेका छन् ।
रुपन्देहीमा कोरोनाको आशङ्कामा सैनामैना बस्ने बाबुराम थापाको मृत्यु भएको छ तर अस्पतालले थापाको मेडिकल रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको भन्दै सोमबार विज्ञप्ती निकालेको थियो । मृतकको परिवारले अस्पतालको लापरबाहीको कारणले थापाको मृत्यु भएको बताएको छ । त्यस्तै रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल लगायत केही निजी अस्पतालहरुले विरामीलाई उपचार नगरी फिर्ता पठाएको, अस्पतालका कर्मचारीहरुलाई सुरक्षित मेडिकल सामग्रीहरु उपलब्ध नगराएको, विरामीको न्युनतम उपचार समेत नगरेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।