चैत २२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा पाल्पा घर भई रुपन्देहीको सैनामैना बस्दै आएका बाबुराम थापाको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीमाथि कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै बुटवलमा चैत १६ गते कोरोना सङ्क्रमणको आशङ्कामा तत्काल उपचार नपाएर थापाको मृत्यु भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विज्ञप्तीमा कोरोना नियन्त्रणका लागी आएको पीपीइलगायत औषधी तथा सम्पूर्ण मेडिकल सामग्री कथित जनप्रतिनिधिहरुले प्रयोग गर्नु र अस्पताल एवं स्वास्थ्यकर्मीहरुलाई उपलब्ध नगराई सामग्री अभावका कारण र अस्पतालको लापरवाहीले निजको मृत्यु भएको बताएका छन् । उनले विज्ञप्तीमा भनेको छन्, “ प्रदेश कार्यालय समेत रहेको स्थानमा थोरै मात्र रहेका सङ्क्रमितहरुको पनि उपचार हुन नसक्नु र विरामीलाई उपचार वा रिफर गरेर जीवनरक्षा गर्ने दायित्वबोध नगर्नु सामान्य कमजोरी मान्न सकिँदैन ।” कोरोना विशेष भनिएको अस्थायी अस्पताल पर्याप्त साधनस्रोतविहीन, स्वास्थ्यकर्मीलाई सुरक्षा र मेडिकल सामग्रीहरु उपलब्ध नगराउनु र विरामीहरुप्रति संवेदनहीन बन्नु राज्यको गैरजिम्मेवारी भएको बताउँदै इन्चार्ज सङ्गमले मृतक बाबुराम थापाको परिवारलाई उचित क्षतिपूर्ति दिन चेतावनी समेत दिएका छन् । साथै कोरोना भाइरसको महामारीबाट सचेत रहन रुपन्देही जिल्लाबासी सम्पूर्ण जनसमुदायहरूलाई हार्दिक अपील समेत गरेका छन् ।
उनले कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्ध पूर्वसमाजवादी देशहरु चीन, क्युबाm भियतनाम लगायतका देशहरुले प्रतिरोध अभियानमा अग्रपंक्तिमा रहेर निभाएको भूमिकाले समाजवादी विचारको विजललाई सङ्केत गरेको बताउँदै तर नेपालमा केपी वली नेतृत्वको सामाजिक दलाल सरकार भ्रष्टाचार र दलालीकरणमा मैमत्त भएको समेत आरोप लगाएका छन् ।