२५ चैत, बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई लक्षित गरी यस सम्बन्धी सूचना संकलन र सम्प्रेषणका लागि मोबाइल एप बनाएको छ ।
सोमबारदेखि सञ्चालनमा आएको मोबाइल एपमार्फत कोभिड–१९ सँग सम्बन्धित प्रदेशभरका सूचना संकलन र संप्रेषण गर्न सकिने छ ।
कोभिड–१९ को संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन भएको अवस्थामा सूचना प्रविधिको प्रयोगमार्फत घरमै बसेर यससम्बन्धी विकसित नयाँ जानकारी लिन र नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउन एप निर्माण गरिएको हो ।
एपलाई मोबाइलमा डाउनलोड गरेर साइन अप गरेपछि कोभिड–१९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिन्छ
एपमार्फत संकलन हुने विवरणले कोभिड–१९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा ठूलो सहयोग मिल्ने भएकाले इन्टरनेटको पहुच र स्मार्ट फोन प्रयोगकर्ता प्रदेश ५ का सबै बासिन्दामा एपमार्फत आफ्नो, परिवारको र छिमेकको कोरोना भारससँग सम्बन्धित विवरण पठाउन प्रदेश सरकारले प्रदेशवासीमा अपील गरेको छ । एपमार्फत संकलन भएका सबै सूचना गोपनियताका साथ राखिने सरकारले स्पष्ट पारेको छ ।
धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाइनमा नबस्ने घटनाहरु सार्वजनिक भइरहेका र यस्ता कृयाकलापले कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गरी मोबाइल एपमार्फत प्रदेशभरिका सूचना संकलन र सम्प्रेषणका लागि पनि एप बनाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
‘एपलाई मोबाइलमा डाउनलोड गरेर साइन अप गरेपछि कोभिड–१९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिन्छ,’ प्रेस सल्लाहकार केसीले भने, ‘एपमार्फत लोकेसनसहितको स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ्य संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न पनि मद्दत पुग्ने र कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठाइ उपचार तथा व्यवस्थापनमा सरकारलाई सहयोग गर्न सकिन्छ ।’
खासगरी भर्खरै विदेशबाट नेपाल आएका व्यक्तिहरू क्वारेनटाइनमा बसे–नबसेको विवरण समेत एपमार्फत पठाउन सकिने र सूचना दिनेको नाम गोप्य राखिने उनले बताए ।
एपबाट कोभिड–१९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांक एवं समाचारहरूसमेत प्राप्त गर्न सकिने केसीले बताए ।
यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टलमा गई डाउनलोड गर्न र गुगल प्ले स्टोरमा समेत उपलव्ध छ ।