चैत ३०, बुटवल
शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौँडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोनाभाइरसको स्वाब परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ ।
टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।
सवास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।
२४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको हो ।
स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।