११ बैशाख
परासी । नेत्रविक्रम चन्द विप्लवका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो ।बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा आज दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले परासीको बुद्धचोकबाट पक्राउ गरेका हुन् । अभियुक्त नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुरका छोरा हुन् ।


गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् । चन्द कपिलवस्तु पक्राउ परेर रुपन्ददेही मा समेत थुनामा बसेका थिए !