१५ बैशाख, बुटवल । नेपालमा बैकल्पिक जनसत्ताको अभ्यास गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद रुपन्देहीले कथित राष्ट्रिय गौरवको योजना सम्पन्न गर्ने बहानामा बुटवलस्थित तिनाउ नदीबाट गिट्टी, ढुङ्गा, बालुवा दोहन गर्ने काम भइरहेको घटनाप्रति जिल्ला जनपरिषद रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
जिल्ला जनपरिषद रुपन्देहीका प्रमुख जीवनले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड १९ को कारण लामो समयदेखि जनता लकडाउनमा परेको मौकामा धमिलो पानीमा माछा मार्ने उद्देश्यले जिल्ला प्रशासन रुपन्देही, बुटवल उपमहानगरपालिका र केही निर्माण व्यवसायीको मिलेमतोमा नदी दोहन गरेको बताएका छन् ।
उनले पर्यावरणीय सन्तुलनको वेवास्ता गर्दै सामाजिक विखण्डन र बस्तीको संरचनालाई क्षति पुग्ने गरी चोरी तथा निकासीको अबैध धन्दालाई समेत बैधता दिएको भन्दै तत्काल यस्तो कार्य नरोके जनपरिषद्को आफ्नो नीति अनुसार कारवाही गर्ने बताएको छ ।