२२ बैशाख, स्याङ्जा । सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित भैरहेको बेला स्थानीय निकायका पदाधिकारीहरु भने विकास बजेट दुरुपयोग गरि कमाउने ध्याउन्नमा उन्मुख हुन थालेका छन् । स्याङ्जाको आधीखोला गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कृष्णप्रसाद पनेरुले लकडाउनको बेला सांसद विकास कोषबाट निकास भएको बजेटले आफ्नो घर जाने बाटो बनाउनमा खर्च गरेको समाचार प्राप्त भएको छ ।
स्याङ्जा क्षेत्र न. १ का संघीय सांसद नारायण मरासिनीमार्फत मुलसडकबाट प्रद्युम्न पनेरु बहुमुखी क्याम्पस जाने सडक बनाउन प्राप्त भएको १२ लाख रुपैयाँमा एकलौटी गर्दै आफ्नो घरतर्फ जाने सडक मर्मतमा खर्च गरेपछि विवाद उत्पन्न भएको हो । लकडाउनको समयमा वडा अध्यक्ष पनेरुले मनोमानी आफ्ना मान्छेहरु राखेर उपभोक्ता समिति बनाई आफ्नो घरतर्फको सडक पीच गरेर बजेट सकाएका हुन् ।
वडा अध्यक्ष पनेरुले आफ्नै नामधारी तथा पारिवारिक सदस्य कृष्ण पनेरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाई ढलान गर्नुपर्नेमा कच्ची पीच बनाएर सांसद विकास कोषको बजेट स्वाहा पारेका हुन् । करिब १५–२० दिन अघिबाट शुरु भएको पीच सडकको काम सक्दानसक्दै उक्त पीच भत्कीसकेको जो कोहीले देख्न सक्छ । अझ मुलसडकबाट क्याम्पससम्मको करिब डेढ किलोमिटर बाटो मध्य १२ लाखले ५ सय मिटर पनि निमार्ण हुन सकेको छैन् ।


खासमा मुलसडकबाट क्याम्पसतर्फ बाटो पीच गर्दै जानु पर्नेमा क्याम्पसबाट आफ्नो घर हुँदै मुलसडकतर्फ पीच गरेर वडा अध्यक्ष पनेरुले उल्टो काम गरेको स्थानीय एक व्यक्तिले नेपालबहस डटकमलाई बताए । अझ रोचक कुरा त के छ भने स्थानीय शिक्षक कृष्ण पनेरुलाई उपभोक्ता समितिको अध्यक्ष, अमृता पनेरुलाई सचिव तथा अन्य आफन्तहरुलाई सदस्य बनाएर गठित उक्त समितिको बजेट सकिसक्दा समेत एकपटक पनि वैठक बसेको छैन् । अध्यक्ष बाहेक सचिव तथा अन्य सदस्यहरुलाई उक्त सडक कति खर्च गरेर बनाईएको हो भन्ने सामान्य जानकारी समेत छैन् ।


एकातर्फ आधा बाटो पनि नबन्नु, अर्कोतर्फ १२ लाख सकिसक्दा समेत समितिको वैठक नै नबसी एकलौटी ढंगले खर्च गर्नु र उक्त पीच भत्किदै जानुले यहाँ गम्भीर भ्रष्ट्राचार र अनियमितता भएको आशंका स्थानीयहरुले गर्न थालेका छन् । नेपालबहसबाट