२०७७ बैशाख २९
बुटवल । भारतले नेपाली भूमि लिपुलेकको पिथौरागढ हुँदै चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विरोध प्रर्दशन गरेको छ । भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सदभाव कायम गर, लिपुलेक सडक निर्माण तत्काल रोक,कुटनीतिक पहल तिब्र गर , नेपाल सरकार स्वेतपत्र जारी गर लगाएतका प्ले कार्ड सहित समाजले बुटवलको पुष्पलाल पार्कमा विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले विश्वभरी फैलिएको कोरोना कहरमा भारतले नेपालको भूमि हुँदै सडक निर्माण गर्दा नेपाली निकै मर्माहत बनाएको बताए । नेपालको भूमि पटक पटक मिच्ने गरेको भन्दै दक्षिण एसियामा भारतले साम्राज्यवादी प्रवृत्ति देखाएको उपसभापति खनालले बताए । ‘यस्तै प्रवृत्ति देखाउँदै जाने हो भने भारत दक्षिण एसियामा एक्लदै जान्छ’– उनले भने ।
उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम नागरिकले सरकारलाई सहयोग गर्ने भन्दै सरकारले लिपुलेकसहितको नेपाली नक्सा सार्वजानिक गर्ने र कालापानीबाट भारतीय सेनालाई र्फिता गर्न खुट्टा कमाउन नहुने बताए । सो अवसरमा शान्ति समाज रुपन्देहीका सभापति डि.पि.खनालले विश्वभर संक्रमण र संकट भएपनि मातृभूमिको सिमा मिचिदा त्यसै बस्न नसकिने बताए । उनले भने ‘अहिले कोरोना महमारीका कारण लकडाउन छ । यस्तो समयमा पनि आफ्नो सिमा मिचिदा लकडाउन छ भनेर बस्न सकिन्न त्यसैले सामाजिक तथा शारिरिक दूरी कायम गरी विरोधमा उत्रेका हौं ।’
समाजले मंगलबार भारतले नेपाली भूमि मिचेको विरोध गर्दै भारतीय दुतावासमा धर्ना दिने कार्यक्रम रहेको समेत बताएको छ । प्रदर्शन केन्द्रीय सदस्य कृष्ण पंगेनी,केन्द्रीयअनुशासन विभागका सदस्य लालहरी पाण्डे ,जिल्ला सचिव अर्जुन ज्ञवाली, सह–सचिव कपिल ज्ञवाली , कार्यसमिति सदस्य धनकुमारी खनाल , सदस्य कृष्ण पाण्डे, विक्रम खड्का लगाएतको सहभागिता रहेको थियो ।