२९ बैशाख,बुटवल
भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा विप्लव नेतृत्वको नेकपा द्वारा देशभर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।
भारतले हालै मानसरोवर यात्राको लिंक रोड उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । भारतीय बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) ले निर्माण गरेको धार्चुलादेखि लिपुलेकसम्मको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेका थिए ।
नेपाली भुमिमा भारतीय पक्षले एकलौटी ढंगले सडक निर्माण गरेको भन्दै देशभर बिरोध समेत भईरहेको छ भने विद्रोही नेकपाले अान्दोलनको कार्यक्रम घोषण गरेको छ ।
अान्दोलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन,ज्ञापनपत्र बुझाउने र दबाबमूलक अभियान सञ्चालन गर्ने तयारीमा नेकपा रहेको छ । यता पुत्ला दहन कार्यक्रममा बोल्दै कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले नेपाली भूमिमा सडक खनेर भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको बताउनुभयो । सेक्रेटरी रणदिपले नेपाली शासकहरुको भारतप्रतिको दलाली मानसिकताका कारण भारतले नेपाली भूमि मिच्दै आएको आरोप समेत लगाए ।
कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल कायम गर्न तथा अतिक्रमित भूमिबारे सप्रमाण अन्तराष्ट्रियकरण गर्न माग समेत गरे । कपिलवस्तु,रुपन्देही,नवलपुर,गुल्मी,अर्घाखाँची,चितवन,झापा,सुनसरी,नुवाकोट लगायतका दर्जनौं जिल्लामा पुत्ला दहन गरिएको नेकपाले जनाएको छ ।
भारतीय कदमको नेपालमा विभिन्न राजनीतिक दलहरुले समेत कडा विरोध जनाएका छन् ।