जेठ ५, बुटवल । गुल्मीको कालीगण्डकी गाउँपालिका – ५ फोक्सिङमा बैशाख २२ गते दलित समुदायमाथि भएको दुव्र्यवहारप्रति दलित मुक्ति मोर्चा लुम्बिनीले घोर निन्दा एवं भत्सर्ना गरेको छ । लुम्बिनी व्युरोको संयोजक जितबहादुर रसाइलीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना अति घृणित, पाखण्डीपूर्ण र अमानवीय रहेको बताएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, “गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका – ५ फोक्सिङमा गत २०७७ बैशाख २२ गते कौशिला परियारकोे शव अन्त्येष्टी गरेर फर्किने क्रममा पानी परिरहेकोले स्थानीय नेत्रबहादुर काउचाको घरमा अनुमति लिई ओत लाग्दा घर ‘अपवित्र’ भएको भन्दै श्याम परियार र उनका बुवा धनबहादुर परियारलाई कुटपिट गर्ने, गाउँ निकाला गर्न धम्की दिने र दण्द सजाय स्वरूप १५०० रुपैया जरिवाना समेत गराउने जस्ता अति घृणित, पाखण्डीपूर्ण र अमानवीय दुव्र्यवहार गरेको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ ।”

उनले विज्ञप्तीमा घटनाबारे यथासिघ्र छानबिन गरी दोषीउपर हदैसम्मको कारबाही गर्न माग गर्दै सामाजिक कलङ्कका रूपमा रहेको जातीय विभेद र उत्पीडन विरूद्व सम्पूर्ण उत्पीडित मुक्तिकामी जनसमुदायलाई सङ्घर्षमा उत्रिन समेत अपील गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, “ यो घटनाले दलित समुदायको मुक्ति अझै नभएको पुष्टि गर्दछ र वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलित समुदायको पूर्ण मुक्ति सम्भव रहेको तथ्यलाई उजागार समेत गरेको छ । त्यसकारण यो घटनाले दलित मुक्ति सङ्घर्षलाई अझ घनिभूत बनाउदै लैजानुपर्ने आवश्यकता बोध भएको छ भने अर्कोतिर केपी वली सरकारले भन्दै आएको कथित शान्ति, समानता र गणतन्त्रको धज्जी समेत उडेको छ ।”