जेष्ठ ५, बुटवल
प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले रोल्पा जिल्लाका सबै स्थानीय तहलाई राहत उपलब्ध गराएका छन् ।

विदेश र बाहिरी जिल्लाबाट फर्किएर क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न अभाव भएपछि जिल्लाका १० वटै स्थानीय तहलाई लक्ष्ािँत गरी व्यक्तिगत पहलमा राहत उपलब्ध गराएका हुन् ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारीलाई मन्त्री के.सीले राहत सामग्री हस्तान्तरण गरेका छन् । राहतस्वरुप ७५ क्विन्टल चामल,३ सय लिटर तेल , ६ हजार मास्क लगायतका सामग्री उपलब्ध गराइएको छ । उक्त राहत जिल्ला प्रशासनमार्फत सम्पूर्ण स्थानीय तहलाई वितरण गरिने छ ।

कोरोना भाइरसको महामारी फैलिएको बेला रोगले भन्दा पहिले भोकले कोही पनि नागरिक आक्रान्त हुन नपरोस् भनेर राहत सामग्री उपलब्ध गराएको मन्त्री के.सीले जानकारी गराए । आगामी दिनमा समेत प्रदेश सरकार र व्यक्तिगत पहलमार्फत रोल्पाका लागि गर्न सकिने सहयोगका लागि तत्पर रहेको बताए ।

यसअघि प्रदेश सरकारले कोरोना राहत कोषबाट जिल्लाका सबै स्थानीय तहलाई राहत रकम पठाएको थियो । तर,क्वारेन्टाइनमा बस्नेको संख्या अत्यधिक भएपछि स्थानीय तहलाई व्यबस्थापन गर्न समस्या भएको थियो । मन्त्री के.सीले यी अबस्थाका बारेमा जानकारी पाएपछि राहत बोकेर जिल्ला पुगेका थिए भने स्थानीय तहका प्रमुखसँग वस्तुगत अबस्थाका बारेमा छलफल समेत गरेका थिए ।

त्यस्तै राहत हस्तान्तरण कार्यक्रममा मन्त्री के.सीले प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस रोकथाममा उच्च सतर्कता उपनाउन निर्देशन दिएका छन् । सामान्य लापरवाहीले भविष्यमा ठूलो जोखिमको सामना गर्नुपर्ने भएकाले यसतर्फ सजग रहन निर्देशन दिएका हुन् । त्यस्तै जिलाका सम्पूर्ण स्थानीय तहका प्रमुखलाई समेत अप्ठ्यारोमा खट्न र नागरिकको जीवन रक्षा गर्न आग्रह गरे ।