जेठ १४, बुटवल । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट दलित मोर्चा दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीले देवदह नगरपालिका वडा नं. ११ मा दलित किशोरी अँगिरा हरिजनको हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीका अध्यक्ष जानुका बराहले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाले संगठनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै दलित समुदायमाथि घटेका यस्ता अपराधपूर्ण घटनाप्रति घोर निन्दा एवं भत्सर्ना गरेकी छन् ।
विज्ञप्तीमा “हामी घटनाबारे तत्काल निष्पक्ष छानबिन गरि हत्या गरिएकी अबोध किशारीका परिवारलाई सामाजिक न्याय सहित उचित क्षतिपुर्ति दिन र उमेर नै नपुगेकी अबोध किशोरीलाई जबर्जस्ती विवाह गराइदिने कथित वडा अध्यक्ष, दलित भएकै कारण घरमा प्रवेश गर्न नदिने र घटनामा संलग्न दोषीहरूमाथि हदैसम्म कारवाही गर्न जोडदार माग गर्दछौं ।” विज्ञप्तीमा संगठनले यदि दलित समुदाय भएकै आधारमा पीडितले न्याय नपाए दोषीमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ । दलित समुदायमाथिको शोषण, दमन, विभेद, बलात्कार र हत्या जस्ता जघन्य घटनाहरु दिनप्रतिदिन घटिरहेको भन्दै यी घटनाले दलित समुदायको मुक्ति नभएको स्पष्ट भएको विज्ञप्तीमा उल्लेख छ ।